Online Bichar
सोमबार, आश्विन ०७, २०८१ | Monday, September 23, 2024

वीरगन्ज, ७ असोज २०८१ । पर्साको पोखरिया नगरपालिका-४ पोखरियामा रहेको जिल्ला उचागंल रामदेव कलवार माध्यमिक विद्यालयमा अत्यधिक गर्मीका कारण कक्षाकोठामै ८ जना विद्यार्थी बेहोश भएका छन्। सोमबार दिउँसो उनीहरू कक्षाकोठामै बेहोश भएका हुन्।

बेहोश हुनेमा कक्षा ७ मा अध्यनरत सोनु ठाकुर र लालसा कुमारी यादव, कक्षा ९ मा अध्यनरत नेहा कुमारी, मनिता कुमारी यादव, अन्तिमा कुमारी राम, चन्दा कुमारी ठाकुर, निसमा कुशवाहा र साजदा खातुन रहेका छन्।

बेहोश भएका उनीहरूको पोखरिया अस्पतालमा उपचार गरिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

घटनापछि पोखरिया नगरपालिकाले सूचना जारी गर्दै नगरपालिकामा रहेका विद्यालयहरूमा बिहानी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले जारी गरेको सूचनामा नगरपालिकामा रहेका सम्पूर्ण विद्यालयहरूमा असोज ८ देखि असोज ११ गतेसम्म बिहान ६ बजेदेखि मौसमको अनकुलता अनुसार पठनपाठन सञ्चालन गर्न निर्देशन दिइएको छ।

पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानले अत्याधिक बढ्दो गर्मीको कारणले विद्यार्थीहरू कक्षाकोठामै बेहोश हुन थालेकाले त्यसैलाई मध्यनजर गरी विद्यालयहरूमा असोज ८ गतेदेखि चार दिनसम्म बिहानी कक्षा सञ्चालन गर्न निर्देशन दिइएको बताए।

 

तपाईको प्रतिक्रिया