Online Bichar
सोमबार, आश्विन ०७, २०८१ | Monday, September 23, 2024

७ असोज २०८१ । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ६ सय १५ जना नेपाली कामदार जेल परेका छन् । केही कमाउने र परिवारलाई सुख दिने सपना बोकेर साउदी अरब पुगेका उनीहरू विभिन्न मुद्दामा जेलजीवन बिताइरहेका हुन् ।

रियादस्थित नेपाली दूतावासले आयोजना गरेको संविधान तथा राष्ट्रिय दिवसको अवसरमा दूतावासले १ वर्षमा गरेको मुख्यमुख्य कार्यको जानकारी दिँदै प्रथम सचिव टीकाराम उपाध्यायले हाल साउदीको जेलमा ६ सय १५ नेपालीले जेल सजाय कटाइरहेको बताए । जेल परेका अधिकांश नेपालीलाई मदिरा उत्पादन, सेवन र ओसारपसारको अभियोग लागेको सचिव उपाध्यायले बताए ।

हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेका छन् । दूतावासले विभिन्न समयमा जेल भिजिट गरिरहेको र कैद भुक्तान भइसकेपछि घर फिर्तीका लागि पनि सहजीकरण गर्ने काम गरेको उनले बताए । साउदी सरकारले विभिन्न मितिमा पक्राउ परेका नेपालीको विवरण दूतावासलाई उपलब्ध गराएको जनाएको छ ।

४ हजार १ सय ६३ जना श्रमिकलाई एक्जिट भिसा
साउदीमा गैरकानुनी रूपमा बस्दै आएका ४ हजार १ सय ६३ जना नेपालीले बहिर्गमन ९एक्जिट० भिसा पाएका छन् । प्रथम सचिव उपाध्यायका अनुसार दूतावासको पहलमा १ वर्षको अवधिमा ४ हजार १ सय ६३ नेपालीले एक्जिट भिसा पाएको बताए ।

आवासीय अनुमतिपत्र ९इकामा० नबनाएका तथा नवीकरण नगरेकालाई स्वदेश फर्किने भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्नुपर्छ । एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड्नुपर्ने कानुनी व्यवस्था छ । एक्जिट भिसाको प्रक्रिया निःशुल्क हुने दूतावासले जनाएको छ ।

तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट भने व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ । साउदीमा इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको अवस्था छ भने एक्जिट भिसाका लागि आवेदन दिन सकिनेछ । त्यस्तै, साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएकाले समेत एक्जिट भिसाको आवेदन दिन सक्नेछन् ।

तर, हुरूब लागेका व्यक्तिले भने दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ गर्न पाउनेछैनन् । इकामाको म्याद भएकाको एक्जिट भिसा प्रोसेसिङ गर्न नमिल्ने दूतावासले प्रस्ट पारेको छ । त्यस्तै, कुनै केस वा जरिमाना तिर्न बाँकी छ भने त्यो चुक्ता नहुँदासम्म एक्जिट भिसा प्राप्त गर्न नसकिने दूतावासले जनाएको छ । दूतावास आफैंले भने एक्जिट भिसा दिँदैन । उसले त त्यसका लागि प्रोसेस गरिदिने मात्र हो ।

एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत) अफिससँग हुन्छ । त्यसैले, दूतावासमा आएर फाराम भरेपछि एक्जिट भिसा लागिहाल्छ भन्ने कुनै ग्यारेन्टी नहुने दूतावासले जनाएको छ ।

दूतावासले साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र ९इकामा० नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गर्ने गर्छ । आजको राजधानी दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया