Online Bichar
आइतबार, आश्विन ०६, २०८१ | Sunday, September 22, 2024

काठमाडौँ, ५ असोज २०८१ । आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइएको हो ।

स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हीराकुमारी निरौलाले नेपालमा ६० वर्षभन्दा माथिका करिब सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सियाबाट प्रभावित रहेको बताइन् । उनले अल्जाइमरको सङ्ख्या यकिन भए पनि डिमेन्सिया भएका ७० प्रतिशत मानिसलाई अल्जाइमरको लक्षण देखिने गरेको बताइन् ।

जनचेतनाका कमीले अल्जाइमर रोगको प्रकोप बढिरहेको र समयमा उपचार गर्न सके यस रोगलाई कम गर्न सकिने निर्देशक निरौलाको भनाइ छ । “समयमा नै रोग पहिचान गरेर कडा खालको बिर्सने रोगको लक्षणलाई अलि ढिला बनाउन सकिन्छ”, उनले भनिन्, “तर बिरामीले उपचार नगर्दा कडा खालको लक्षण चाँडै देखिने गरेको छ ।”

नेपालमा ६० वर्षमाथि उमेरका व्यक्तिमा यस रोगको समस्या देखिने गरे पनि आजकाल ४० देखि ४५ वर्ष उमेर समूहमा समेत समस्या देखिने गरेको निर्देशक निरौलाले बताइन् ।रासस

 

तपाईको प्रतिक्रिया