Online Bichar
आइतबार, आश्विन ०६, २०८१ | Sunday, September 22, 2024

विराटनगर, ५ असोज २०८१ । मोरङको केराबारीमा बाबुसँगै जंगल जाँदा बेपत्ता भएका १ बालकको १३ दिनपछि कंकाल भेटिएको छ। केराबारी गाउँपालिका–६ बस्ने पदमबहादुर तामाङका १४ वर्षीय छोरा दीपबहादुर तामाङको कंकाल शनिबार दिउँसो भेटिएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले केराबारी–६ स्थित आहाले सामुदायिक वनभित्र दिउँसो १ बजेतिर कंकाल फेला परेको बताए।

जंगलमा दाउरा खोज्न गएकाहरुले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेको जानकारी उनले दिए। दीपबहादुर भदौ २३ गते दिउँसो बाबु पदमबहादुरसँग जंगल गएको पत्ता लागेको छ। ‘बन्चरोको बिँड काट्नलाई भनेर बाबु–छोरा जंगल गएका रहेछन्। काम सकिएपछि बाबु घर फर्किए। छोराले म केहीबेरमा आउँछु भनेर भनेछन्। तर, फर्किएर गएनन्। परिवार र आफन्तले खोजी गरिरहेका बालकको एक्कासि कंकाल फेला परेको हो,’ डीएसपी जोशीले भने। उनका अनुसार कंकालको केही भाग रुखले किचिरहेको अवस्थामा भेटिएको छ।

‘रुख ढलेर किच्दा बालकको मृत्यु भएको हुनसक्ने देखिन्छ। कंकाल पनि ढलेको रुखले च्यापिएको अवस्थामा भेटिएको हो,’ उनी भन्छन्, ‘विस्तृतमा घटनाको अनुसन्धान अघि बढाइएको छ। थप विषय अनुसन्धानपछि पत्ता लाग्छ।’ जोशीका अनुसार घटनास्थलमा भेटिएको कपडाका आधारमा बाबु पदमबहादुरले ‘कंकाल मेरै छोराको हो’ भनेर सनाखत गरिदिएका हुन्।

शरीरका अंग छरपस्ट रहेको अवस्थामा कंकाल भेटिएको थियो। ढलेको रुखले लागेर मृत्यु भएपछि जंगली जनावरले खाएको हुनसक्ने प्रहरीको आशंका छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कंकाल उठाएर परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ। खत्री नेतृत्वकै प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया