Online Bichar
शुक्रबार, आश्विन ०४, २०८१ | Friday, September 20, 2024

काठमाडौँ, ३ असोज २०८१ । पोखरा विश्वविद्यालयअन्तर्गतको स्कूल अफ बिजनेस क्याम्पसले यसवर्षको उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार पाएको छ ।

सरकारले राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा देशभरका क्याम्पसहरूमध्ये राष्ट्रियस्तरमा उत्कृष्टलाई नगदसहित पुरस्कृत गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट क्याम्पस, विद्यालय र अन्य शैक्षिक संस्थाहरूलाई बिहीबार पुरस्कार हस्तान्तरण गरे । उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार पाएको लेखनाथस्थित स्कूल अफ बिजनेसले दुई लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ ।

यस्तै, सामुदायिक क्याम्पसतर्फ ललितपुरको चापागाउँस्थित जनभावना क्याम्पस र निजी क्याम्पसमध्येबाट काठमाडौँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज पुरस्कृत भएका छन् । दुवैले जनही दुई लाख ५० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

यस्तै, सार्वजनिक विद्यालयतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा दाङको तुलसीपुरस्थित तुलसीपुर माविले प्रथम स्थान हासिल गर्दै राष्ट्रिय शिक्षा पुरस्कार पाएको छ । उक्त विद्यालयले नगद तीन लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गर्‍यो । यस्तै, विश्वनिकेतन मावि काठमाडौँले द्वितीय स्थान हासिल गर्दै दुई लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गर्‍यो । तृतीय हुने दाङको शान्तिनगरस्थित जनकल्याण माविले एक लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पायो ।

यस्तै, निजीतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्रथम हुने काठमाडौँको टोखा नगरपालिका–८ स्थित फलोसेन्ट माविले तीन लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गर्‍यो । द्वितीय हुने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय काठमाडौँले दुई लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र तथा तृतीय हुने काठमाडौँकै बूढानीलकण्ठ स्कूलले एक लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गर्‍यो ।

यस्तै, प्राविधिक शिक्षालयतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउने नेपाल बनेपा बहुप्राविधिक बनेपा, काभ्रेपलाञ्चोक, तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट तुलसीपुर, दाङ, जनता मावि वाणगङ्गा, कपिलवस्तु र नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स, काठमाडौँलाई एक लाखसहित राष्ट्रिय शिक्षा पुरस्कार पाए।

ती शिक्षालयलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌बाट सञ्चालन गरेको परीक्षामा सर्वोकृष्ट नतिजा ल्याएका आधारमा पुरस्कृत गरिएको हो । यस्तै, दिवसकै अवसरमा समाज कल्याण शिक्षा पुरस्कार युवा क्रियाकलाप उत्थान केन्द्र कागेश्वरी मनहरा र सी आशा फाउन्डेसन ललितपुर जनही दुई लाखसहित प्रमाणपत्रले पुरस्कृत भए ।

 

तपाईको प्रतिक्रिया