Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

उर्लाबारी, ३१ भदौ २०८१ । कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेशको अनुगमन तथा नियमन क्षेत्रका ७८ वटा सहकारी संस्था उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयले जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख गरेको छैन ।

कार्यालयले प्रदेश कार्यक्षेत्र रहेका १०७७ वटा सहकारीमध्ये ४६२ वटा सहकारी संस्थाको निरीक्षण तथा वित्तीय विश्लेषण गर्दा एउटा पनि सहकारी अति न्यून जोखिममा देखिएको छैन । कार्यालयको तथ्याङ्क अनुसार झापामा सबैभन्दा बढी ३५ वटा सहकारी संस्था उच्च जोखिममा छन् । यस्तै मध्यम जोखिममा १४१ वटा र न्यून जोखिममा आठ वटा सहकारी छन् । मोरङमा १९ वटा सहकारी उच्च जोखिममा रहेको देखिएको छ । मध्यम जोखिममा १२८ र २० वटा सहकारी न्यून जोखिममा छन् । सुनसरीमा १५ वटा उच्च जोखिममा, ४० वटा मध्यम जोखिममा र ३ वटा न्यून जोखिममा छन् ।

कोशी प्रदेश रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रमुख रजिस्ट्रार हरिबहादुर खत्रीका अनुसार रजिस्ट्रार कार्यालयले कोशी प्रदेशका १४ मध्ये भोजपुर बाहेक सबै जिल्लाका सहकारीको वित्तीय विश्लेषण गरेको थियो । उहाँका अनुसार झापाका १८४, मोरङका १६७ र सुनसरीका ५८ वटा सहकारीको विश्लेषण गरिएको हो । यस्तै इलामका १० वटा ,पाँचथरका नौ वटा, धनकुटा र तेह्रथुमका आठ÷आठ वटा सहकारीको वित्तीय विश्लेषण गरिएको हो । यसै गरी उदयपुर र सङ्खुवासभाका पाँच÷पाँच वटा,सोलुखुम्बुका तीन वटा,ओखलढुङ्गा र ताप्लेजुङका दुई दुई वटा र खोटाङको एउटा सहकारीको वित्तीय विश्लेषण गरिएको थियो ।

सहकारी डिभिजन कार्यालय विघटन भएपछि सहकारी विभागले एउटा स्थानीय तहमा मात्र कार्यक्षेत्र रहेका सहकारीलाई सोही पालिकाले अनुगमन, नियमन र निरीक्षण गर्ने कानुनी व्यवस्था गरेको थियो । त्यस्तै एकभन्दा धेरै पालिका कार्यक्षेत्र रहेका सहकारीलाई प्रदेश सरकारले र एकभन्दा बढी प्रदेशमा कार्यक्षेत्र भएका सहकारीलाई विभागले अनुगमन गर्ने व्यवस्था गरेको थियो । सोही अनुसार कोशी प्रदेश कार्यक्षेत्र रहेका १०७७ मध्ये ४६२ वटा सहकारीको विश्लेषण गरिएको रजिस्ट्रार हरिबहादुर खत्रीले बताउनुभयो ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया