जेबि खड्का
गौरादह, १५ भदौ २०८१ । डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०८०/०८१ मा ९ करोड ५१ लाख ८ हजार ८ सय २४ रुपैयाँ कुल आम्दानी गरेको छ। गत आर्थिक बर्षमा ८३ करोड ५९ लाख ७८ हजार ९ सय ७३ कुल कारोवार गरेको संस्थाले १ करोड २ लाख ८७ हजार ८ सय ६७ कुल नाफा गरेको छ।
संस्थाको १७ औं बार्षिक साधारणसभाको गौरादह सेवाकेन्द्रमा ईकाइगत साधारणसभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष कार्यक्रमका सभापति तुलाराम न्यौपानेले संस्था अब मुनाफा कमाउने तर्फमात्र अग्रसर नहुने बताएका छन। संस्थाले सेयर सदस्यलाई योग्य जनशक्ति उत्पादन गर्न आवश्यक तालिम दिनुका साथै ऋण लगानी गर्ने बताएका छन। संस्थाले पहिलो पटक १० जना सेयर सदस्यहरुलाई स्वरोजगार बनाउन सीप मुलक तालिम प्रदान गर्ने धारणा राखेका थिए। सेयर सदस्यहरुको चाहना अनुसार कौसी खेती, आर्गनिक तरकारी खेती, व्यावसायिक तालिम, लगायतका तालिम प्रदान गरिने जानकारी गराएका छन।
संस्थाले गत आर्थिक बर्षमा स्वास्थ्य शिविर, रक्तदान, तिज बिशेष कार्यक्रम, सहकारी अवलोकन भ्रमण, जेष्ठ सदस्य पर्यटकीय स्थल भ्रमण, समुदायमा आधारित कार्यक्रम,योग शिविर, बाल तथा सदस्य अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको संस्थाका ब्यबस्थापक टंक निरौलाले जानकारी गराएका छन। प्रधान कार्यलय दमकमा रहेको संस्थाले हाल सम्म गौरादह, धरमपुर, बुद्ध शान्ति, बिर्तामोड, सुरुङगा, उर्लाबारी सेवा केन्द्र संचालन गरेको संस्थाका गौरादह सेवा केन्द्र प्रमुख चुडामणी पौडेलले जानकारी गराएका छन।
गौरादह सेवा केन्द्रको ईकाइगत साधारणसभामा लेखा सुपरिवेक्षण समितिका संयोजक हेम चन्द्र खनालले लेखा सुपरिवेक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा संस्थाका उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठ, गौरादह संयोजक टीका गौतम लगायतले शुभकामना मन्तब्य राखेका थिए। गौरादह सेवा केन्द्र सदस्य रामा दाहालले स्वागत मन्तब्य राखेको कार्यक्रममा सह सचिब केशव शरण अधिकारीले कार्यक्रम संचालन गरेका थिए।