Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

काठमाडौं, १२ भदौ २०८१ । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा दसैँसम्ममा आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षाको नतिजा दसैँ अगाडि नै प्रकाशन गर्नेगरी तयारी गरेको हो ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले हाल कापी परीक्षणको काम भइरहेको बताए । कक्षा ११ को रजिस्ट्रेसन फारामलाई असर नपर्नेगरी नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको उनको भनाइ छ ।

बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ११ को रजिस्ट्रेसन फाराम भराउने समय असोज १५ देखि कात्तिक ३० भित्र (विलम्ब शुल्कसहित) को समय तोकिएको छ । त्यस अगाडि नै नतिजा प्रकाशन गर्ने योजनाका साथ काम भइरहेको पौडेलले बताए ।

हाल देशभरका विभिन्न ३४ वटा केन्द्रमा कापी परीक्षणको काम भइरहेको छ । कापी परीक्षण सकिएको क्षेत्रबाट कापी र मार्क बोर्डमा पठाउने समेत काम भइरहेको छ भने वर्षातले गर्दा कतिपय ठाउँमा समस्या समेत भइरहेको छ ।

‘दसैँ अगाडि नै नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको छ । बर्खाले समस्या भइरहेको छ । टाढा विकट क्षेत्रका कापी परीक्षण केन्द्रसम्म ल्याउन समस्या भइरहेको छ । त्यस्तै परीक्षण भइसकेका कापी बोर्डमा ल्याउन पनि बर्खाले समस्या भइरहेको छ,’ परीक्षा नियन्त्रक पौडेलले भने ।

२०८० सालको एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीलाई ग्रेडबृद्धिको मौका दिइएको थियो ।

त्यसअघि दुई विषयमा मात्रै एनजी आएका विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो । तर, तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एनजी आएका सबै र अनुपस्थित भएका सबै विद्यार्थीलाई ग्रेडबृद्धि परीक्षा दिन पाउने निर्णय गरेकी थिइन् ।

सोही आधारमा बोर्डले सबैलाई परीक्षा दिन पाउनेगरी कार्यतालिका सार्वजनिक गरेको थियो । जसमा दुई लाख नौं हजार ८०४ विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिएका थिए । एनजी आएका तथा अनुपस्थित रहेका दुई लाख ३४ हजारमध्ये उक्त संख्यामा मात्रै विद्यार्थीहरूले परीक्षा दिएका थिए ।

 

तपाईको प्रतिक्रिया