Online Bichar
सोमबार, माघ ०७, २०८१ | Monday, January 20, 2025

मकवानपुर, २३ साउन २०८१ । मकवानपुरको हेटौंडाबाट अनलाइनमार्फत ठगी गर्ने ९ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा–४ स्थित पारिजात पथमा रहेको प्रमोद वाग्लेको घर भाडामा लिएर अनलाइनमार्फत ठगी गर्ने उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

२१ साउन बेलुका ६ बजेको समयमा वाग्लेको घरको पाँचौं तलाको फ्ल्याट भाडामा लिई मेडि असिष्ट नामको कम्पनी मार्फत अनलाइन ठगीको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालले जानकारी दिए ।

प्रहरी प्रमुख रिजालका अनुसार पक्राउ पर्नेहरूमा सबै भारतीय नागरिक रहेका छन् । पक्राउ पर्नेहरूमा भारत पटना थाना आलमगंज वडा नम्बर–५७ बस्ने २८ वर्षीय नवनित कुमार, भारत स्वाग कोल्लिएरी, बोकरो झारखण्ड बस्ने २७ वर्षीय शाहरुख खान, भारत करवा बलराम अरवल करपी बिहार बस्ने २९ वर्षीय कुन्दन कुमार, भारत कृष्ण कालोनी छोटी मुखानी हल्द्धानी नैनिताल उत्ताराखण्ड बस्ने २६ वर्षीय आशिष कब्डौला, भारत काजु बागाना रोड सुन्दर नगर, हेहल राँची झारखण्ड बस्ने ३४ वर्षीय विशाल कक्कड, भारत केशवनगर पहाडी टोल रातु रोड राँची झारखण्ड बस्ने ३८ वर्षीय लोकेशकुमार दुवे, भारत लोवर वर्दवान कम्पाउड लालपुर राँची झारखण्ड बस्ने २९ वर्षीय विकासकुमार सिंह, भारत नांगलोड वेस्टी देल्ही बस्ने २८ वर्षीय अरुणकुमार, भारत बैशाली गजियावाद उत्तर प्रदेश बस्ने ४० वर्षीय कुनाल शर्मा रहेका छन् ।

पक्राउ परेका उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप ७ थान, राउटर ३ थान, मोबाइल १३ थान, हार्ड डिस्क १ थान, हेडफोन ४ थान, माउस २ थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थान, मेडी एसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान बरामद गरिएको रिजालले जानकारी दिए ।

प्रहरी उपरीक्षक रिजालका अनुसार १० फागुन २०८० मा हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा भारत पुष्प बिहार जिल्ला नयाँ दिल्ली स्थायी बसोबास गर्ने द्रबिन कुमार सिंहको नाममा मेडि असिष्ट कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने गरी वाग्लेको घरमा फ्ल्याट भाडामा लिई सञ्चलन गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सिंहले आन्तरिक राजश्व कार्यालय हेटौंडाबाट मेडि असिष्ट कम्पनी देखाएर मानव स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने गरी पान नम्बर दर्ता गरिएको र उक्त कम्पनीमा १२ जना व्यक्तिहरूलाई काममा राखेको उनले बताए ।

१२ जनामध्ये ३ जना (द्रबिनकुमार सिंह, रजत शर्मा र प्रकाश) फरार रहेको रिजालले बताए । सो कम्पनीमा कार्यरत व्यक्तिहरूले १८ देखि ५० हजार भारतीय रुपैयाँ नगदमा तलब बुझ्ने गरेको खुले पनि भुक्तानीको कुनै पनि अभिलेख फेला नपरेको उनले बताए । भारतको राचीस्थित हेड अफिसमा मेन सर्भर राखी क्विक कल क्लाइन्ट सफ्टवेयर मार्फत काम गर्ने गरेको खुल्न आएको उनले बताए । सो सफ्टवेयर मार्फत टार्गेट ग्रुप पहिचान गरी सम्पर्क गर्ने र सम्पूर्ण विवरण भारत ट्रान्सफर गर्ने गरिएको रिजालले जानकारी दिए ।

अनुसन्धानका क्रममा कम्पनीद्वारा कुनै पनि आर्थिक कारोबार कानुन बमोजिम नगरिएको र अभिलेखीकरण नभेटिएको उनले बताए । उक्त कम्पनीबाट हुने गरेको काम कारबाहीको डाटा समेत हेड अफिसको सरभरमा राख्ने गरेको उनको भनाई छ । सो कम्पनीले अधिकांश रातको समयमा मात्र काम गर्ने गरेको अनुसन्धानमा खुलेको उनले बताए ।

पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा (१०, ९२) विपरीत कसुर अपराध गरेको मुद्दा दायर गरी मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रिजालले बताए । उनीहरूमाथि सोही ऐनको परिच्छेद ३ को दफा ३४ को उपदफा ३ बमोजिम दण्ड सजाय माग गरी मुद्दा दर्ता गरिने बताइएको छ।

 

तपाईको प्रतिक्रिया