Online Bichar
शुक्रबार, पौष १२, २०८१ | Friday, December 27, 2024

काठ्माडौं, ३ साउन २०८१ । संसारभर माटोको गुणस्तर खस्किँदै जाँदा उर्बराशक्तिमा ह्रास आउने क्रम बढ्दो छ। माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रिँदै गएकाले उर्बराशक्ति घटिरहेको छ।

कृषि औजार, रासायनिक मल, बिषादीको प्रयोग बढ्नु तथा गोबर वा कम्पोष्ट मलको प्रयोग न्यून हुँदै जानुले पनि माटो बिग्रिँदै गएको विज्ञहरू बताउँछन्। भू–क्षय, बालीचक्रको आधारमा खेती नगरिनु, माटोको खनजोत धेरै हुनु, कोशेबाली कम लगाउनुले पनि माटोको गुणस्तर खस्कने गरेको पाइएको छ।

माटोको प्रकृति

नेपालको खेतीयोग्य जमिनमा ६६ प्रतिशत माटो अम्लिय प्रकृतिको छ। राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका अनुसार, खेतियोग्य माटोमा ६६ प्रतिशत अम्लियपना, ५ प्रतिशत क्षारीय र २९ प्रतिशत तटस्थ प्रकृति देखिएको छ।

केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डा. श्रीप्रसाद विष्टका अनुसार, पूर्वतिरको माटोमा अम्लियपना बढी पाइन्छ। चियाका लागि धेरै अम्लियपना चाहिन्छ। यस्तैगरी सल्लो भएका ठाउँको माटोमा धेरै अम्लियपना हुन्छ। धान, मकै, गहुँ, तरकारी बालीका लागि ६ देखि ७ पि।एच।को रेन्ज सबैभन्दा राम्रो मानिन्छ।

यद्यपि ४ देखि साढे ४ पि।एच।मा पनि धान हुन्छ। ‘सबै ठाउँको माटोको प्रकृति उस्तैखालको हुँदैन। केही बालीलाई अम्लियपना वा क्षारियपनाले असर गर्दैन’ डा. विष्टले भने, ‘लगभग साढे ५ देखि साढे सात पि।एच। भएको माटोलाई सबैभन्दा राम्रो स्वस्थ भनिन्छ। यसरी, अन्तरराष्ट्रिय मान्यता अनुसार नेपालको माटो ३० प्रतिशत राम्रो देखिन्छ। बाँकी ७० प्रतिशत माटो नराम्रो छ भन्ने चाहिँ होइन, बालीअनुसार फरक पर्छ।’

माटोमा प्रांगारिक पदार्थ

नेपालको माटोमा प्रांगारिक पदार्थको स्थिति मध्यम रहेको छ। तराईतिर भने अति कम छ। प्रांगारिक पदार्थले माटोको भौतिक अवस्था सुधार्न, सुक्ष्म जिवाणुको संख्या वृद्धि गरी तिनीहरूको सक्रियता, क्रियाकलापसँगै माटोमा रहेको खाद्यतत्व संचय गर्ने क्षमतासमेत बढाउँछ।

प्रांगारिक पदार्थको उपलब्धता हेर्दा ६० प्रतिशत माटो मध्यम देखिन्छ भने १२ प्रतिशतको हाराहारीमा अधिक र २३ प्रतिशतमा प्रांगारिक पदार्थ कम रहेको डा. विष्टले बताए।

तापक्रम कम भएकाले पहाडको माटोमा प्रांगारिक पदार्थ बढी छन्। धेरै तापक्रमका कारण तराई बेल्टमा भने प्रांगारिक पदार्थ एकदमै कम रहेको छ। तराईका जमिनमा एकपटक मल हालेपछि दुई/तिन महिनामै त्यसको गुणस्तर सकिँदै जान्छ। प्रांगारिक पदार्थलाई माटोको मुटु मानिन्छ।

विष्टका अनुसार, उत्पादनयोग्य जमिनमा स्वस्थ माटोमा प्रांगारिक पदार्थ ५ प्रतिशत हुन जरुरी छ। ‘३ देखि पाँचलाई हामी राम्रो मान्छौँ, तिनदेखि तललाई राम्रो मानिँदैन, तराईमा भने अति कम एक प्रतिशतमात्र प्रांगारिक पदार्थ छ’, उनले भने, ‘स्वस्थ माटोको आधार नै प्रांगारिक पदार्थ हो, जिवाणुहरूको खानेकुरा त्यहीँ हुन्छ, बोटविरुवाले पनि मलहरू छिट्टै पाउँछन्।’

प्रांगारिक पदार्थ धेरै भएपछि जिवाणुको संख्या बढ्ने र जिवाणु धेरै भएका ठाउँको माटो स्वस्थ हुने उनले बताए। प्रांगारिक पदार्थमा ह्रास आउँदा उत्पादन र उत्पादकत्व पनि घट्दै जान्छ।

माटोमा प्रांगारिक पदार्थ बढाउन गोबरको मल अर्थात कम्पोस्ट मलको प्रयोग बढाउनुपर्ने, कोसेबाली बढी लगाउनुपर्ने विज्ञहरूको सुझाव छ। कृषि विकास रणनीतिले पनि नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा १.९६ प्रतिशतबाट ४ प्रतिशतमा पु¥याउने लक्ष्य लिएको छ।

माटोमा पाइने अन्य तत्वहरू

खेतियोग्य माटोमा विभिन्न १७ वटा तत्व आवश्यक पर्दछ। नाइट्रोजन, फस्फोरस र पोटास मुख्य तत्वहरू हुन्। क्याल्सियम, म्याग्नेसियम, सल्फर सहायक तत्व हुन्। जिङ्क, कपर, एलमुनियम, बोरोन, क्लोरिन माटोका लागि आवश्यक सूक्ष्म तत्व हुन्।

बोटविरुवाले कार्बन, हाइट्रोजन र अक्सिजन हावा र पानीबाट प्राप्त गर्छन्। बाँकी तत्व विरुवाले माटोबाट प्राप्त गर्छन्। नेपालको माटोमा नाइट्रोजनको मात्रा पनि कम छ।

‘फस्फोरस र पोटासको स्थिति चिन्ताजनक छैन तर नाइट्रोजन कमै छ। हामीले हाल्ने युरिया मल नाइट्रोजन हो’, वरिष्ठ वैज्ञानिक डा. विष्टले भने, ‘लगभग ५८ प्रतिशत माटोमा नाइट्रोजनको मात्रा मध्यम, ३० प्रतिशतमा न्यून र १४ प्रतिशतमा मात्र अधिक छ।’

माटोमा फस्फोरस र पोटासको मात्रा ६५ प्रतिशतभन्दा माथि छ। फस्फोरसको मात्रा ४२ प्रतिशतमा माटोमा न्यून, २८ प्रतिशतमा मध्यम र ३१ प्रतिशतमा अधिक रहेको छ भने पोटासको मात्रा ५० प्रतिशतमा न्यून, २६ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा अधिक पाइएको केन्द्रले जनाएको छ।

सुक्ष्म तत्वको कमी

​नेपालको माटोमा आवश्यक सूक्ष्म तत्वको कमी देखिएको छ। राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटोमा जिंक र बोरन जस्ता सूक्ष्म तत्वहरूको कमी देखिएको जनाएको छ।

माटोमा जिंक, बोरन सकिँदै गयो किनभने हामी युरिया, डिएपीतिर केन्द्रित भयौँ तर बोटविरुवालाई चाहिने नाइट्रोजन, फस्फोरस र पोटाससँगै अन्य १७ वटा तत्वहरू छन्। कार्बन, अक्सिजन, हाइट्रोजन हावा र पानीबाट पाउँछ। बाँकी एघारवटा तत्वहरू हामीले हालेका छैनौँ।

माटोको संरक्षण

राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. विष्ट भन्छन्, ‘पहिलो राम्रो खनजोत गरेर बाली लगाउनुपर्छ भनिन्थ्यो तर अहिले यो परिवर्तन भएको छ। अहिले माटोलाई शून्य खनजोत भनिएको छ।’

माटोलाइ धेरै खनजोत गर्नु पनि उपयुक्त मानिएको छैन। खनजोत धेरै गर्दा माटोमा भएका जिवाणूहरू पनि त्यति नै उथलपुथल हुने भएकाले अहिले शून्य खनजोतको अवधारणा पनि ल्याइएको छ। यस्तैगरी, खेती गर्दा माथिबाट छापो लगाएर जिवाणुहरूलाई आवश्यक तापक्रम पनि पुग्ने र लामो समयसम्म चिस्यान रहने हुन्छ।

‘अदुवा खेती जस्तै माटोमा झारपात, पराललगायत कुहिने वस्तुहरूको छापो लगाएर खेती गर्दा पानीको मात्रा संरक्षण गर्छ। प्रांगारिक पदार्थ बढाउनुपर्छ, बालीचक्रमा एकपटक कोसेबाली लगाउनुपर्छ, वरिष्ठ वैज्ञानिकसमेत रहका डा। विष्टले भने, ‘केराउ, सिमी जस्ता कोसेबालीका गिर्खाले वायूमण्डलमा भएको नाइट्रोजनलाई ल्याएर माटोमा राखिदिन्छ, तिनीहरूको जरा धेरै गहिरो जाने भएकाले मुनिको सतहमा भएको तत्वहरूलाई माथि ल्याइदिने हुँदा माटोको गुणस्तर बचाउन मद्दत पुग्छ।’थाहाखबरबाट

तपाईको प्रतिक्रिया