Online Bichar
शुक्रबार, पौष १९, २०८१ | Friday, January 3, 2025

जेबि खड्का
गौरादह, २१ असार २०८१ । गौरादह नगरपालिका वडा नं.१ ले वडा र नगरबाट संचालित योजनाहरु यस आर्थिक बर्षमा सम्पन्न गरेको छ। गौरादह नगरपालिका वडा नं.१ ले आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा अन्तर्किया कार्यक्रममा वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले वडा भित्र संचालन गरिएका जम्मा ५१ वटा योजनाहरु मध्ये ४९ वटा योजना सम्पन्न भएको जानकारी गराएका थिए।

प्रदेश सरकारबाट बिनियोजित बजेटबाट संचालित बहुबर्षे आयोजनाको काम संचालन भइरहेको जानकारी गराएका थिए। प्रदेश सरकारको बजेटबाट संचालित योजना अन्तर्गत गौरादहमा पर्यटकीय स्थलका रुपमा रहेका पोखरी निर्माणाधीन अवस्थामा रहेको, नगर स्तरीय योजनाबाट निर्माण भइरहेको लालपैनी खोलामा पुल निर्माणाधीन अवस्थामा रहेको बताएका थिए। पुर्वाधार बिकास अन्तर्गत रचना बोर्डिङ दक्षिण सडक, डिठ्ठा चौक उत्तर सडक, जनता मा.बि.  सडक कालोपत्रे गर्ने अवस्थामा पुगेपनि मौसम प्रतिकुलका कारण काम रोकिएको जानकारी गराएका थिए।वडाले संचालन गरेका सामाजिक बिकास, आर्थिक बिकास, सुशासन तथा संस्थागत क्षमता बिकास, वातावरण तथा बिपद व्यवस्थापन र भौतिक बिकास तर्फका योजनाहरु सम्पन्न भएको वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी गराएका थिए। आर्थिक बर्ष २०८०/०८१ मा वडा भित्र ५ हजार ५ सय ८७ मिटर सडक कालोपत्रे, १ हजार ६ सय ५३ मिटर सडक ग्राभेल र २ हजार १ सय २२ मिटर सडक मर्मत गरिएको जानकारी गराएका थिए। यस आर्थिक बर्षको असार १७ गते सम्ममा वडा नं.१ ले ६० लाख ३ हजार ४ सय ९१ रुपैयाँ राजस्व संकलन गरेको जानकारी गराएका थिए।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले जिज्ञासा राखेका थिए। स्थानीय हस्तराम दंगालले लागू औषध दुर्ब्यसनी नियन्त्रणका लागि बजेट बिनियोजन गरेर कार्यक्रम तथा नाटक प्रदर्शन गरेपनि न्युनिकरण हुन नसकेको बताएका थिए। नरेश कार्कीले निकास बिनाको बिकास गरिदा बर्षादमा समस्या निम्त्याएको बताउदै बिकास निर्माणका काम गरिदा नागरिकको तर्फबाट पनि अनुगमन समिति गठन गरिनुपर्ने धारणा राखेका थिए। कृष्ण साम्राले सामुदायिक बिद्यालय प्रति नागरिकहरुको आकर्षण बढाउने कार्यक्रम स्थानीय सरकारले ल्याउनु पर्ने धारणा राखेकी थिइन्। मन्जुमणि विमलीले गौरादह डिपु चौक र बजार क्षेत्रमा रहेका सिसि क्यामरा बिग्रिएकाले त्यसलाई मर्मत गरि संचालनमा ल्याउनुपर्ने बताएका थिए। जुद्द बहादुर बिष्टले नगर अस्पतालमा नि:शुल्क पाइनुपर्ने औषधि नपाएको गुनासो गरेका थिए। सुरेश कुमार पौडेलले स्थानीय सरकारको बजेटबाट संचालित योजनाहरुमा बजेट खर्च भए अनुसारको उपलब्धि नभएको प्रतिक्रिया दिएका थिए। वडा सदस्य अन्जु निरौलाले स्वागत मन्तब्य राखेको कार्यक्रममा वडा सदस्य केशर बहादुर खवासले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया