Online Bichar
सोमबार, पौष २९, २०८१ | Monday, January 13, 2025

झापा । झापाली पत्रकारहरुको साझा छाता संस्था नेपाल पत्रकार महासंघ झापा शाखा २०८० पुस ९ गते आफ्नो स्थापनाको ३५ औं वर्षमा प्रवेश गरेको छ । ०४६ साल पुस ८ र ९ गते झापा चन्द्रगढीको कलवलगुडीमा नेपाल पत्रकार संघ केन्द्रीय समितिको मोफसलमा पहिलो वैठक बसेको र दोस्रो दिनको वैठकले नेपाल पत्रकार संघ झापा शाखा गठन गरेको सबैमा स्मरण गराउँदछु ।

०५२ साल जेठ १५ गते सम्पन्न केन्द्रीय महाधिवेशनले नेपाल पत्रकार संघलाई ‘महासंघ’मा रुपान्तरण गरेको इतिहास छ । स्थापना दिवसका अवसरमा महासंघ झापाका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । साथै, यो संस्थाको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दछु । झापा शाखाका संस्थापक सभापति डिल्लीराम निर्भिक, सस्थापक कार्यसमिति सदस्यहरु मदन ढकाल,भरत भूर्तेल र गोपीकृष्ण खनालप्रति श्रदासुमन अर्पण गर्दछु । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका क्रममा एवं आफ्नो कर्तव्य निर्वाहका क्रममा साहदत प्राप्त सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु ।

नेपाली पत्रकारिताको इतिहासमा झापाली सञ्चारकर्मी र यहाँको सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका सदैव केन्दविन्दु्रमा रहेको छ । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवं नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको छ । यस भूमिकामा महासंघ झापा शाखाको योगदान सदैव अग्रणी र अतुलनीय रहेको छ । यसमा हाम्रा अग्रजहरूको योगदान र महासंघको गौरवपूर्ण इतिहासप्रति महासंघ झापा शाखा समिति गर्व गर्दछ । आगामी दिनमा पनि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्त रूपमा लागिरहनुपर्ने आवश्यकता छ ।

मुलुकमा संघीयताको अभ्यास गर्ने पहिलो लोकतान्त्रिक संस्था नेपाल पत्रकार महासंघ भए पनि तीनै तहका सरकारको उचित ध्यान नजाँदा नेपाली सञ्चार क्षेत्रले नै अहिलेसम्म संघीयताको अनुभूति गर्न नपाउनु दुःखद् छ । संविधान जारी भई दुई वटा आवधिक निर्वाचन सम्पन्न भए पनि तीनै तहमा मिडिया सम्बन्धित कानुनहरू बन्न सकेका छैनन् । कानून अभावमा सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा समस्या खडा भएको छ । यस सन्दर्भमा निरन्तर खबरदारी गर्दै प्रेसमैत्री कानुन निर्माणका लागि दबाब दिनुपर्ने जिम्मेवारी पनि हामीले निर्वाह गर्नुपर्दछ । अर्कोतर्फ कोभिड–१९ को वैश्विक महामारीसंगै गहिरिदै गएको मुलुकको आर्थिक संकटको ठूलो असर पत्रकारिता क्षेत्रले भोग्नु परेको छ । धेरै सञ्चार माध्यम बन्द भए, धेरै सञ्चारकर्मीले रोजगारी गुमाए । परम्परागत मिडियामा विज्ञापन बजार खुम्चिएको र विज्ञापन इन्टरनेटका माध्यमतर्फ रुपान्तरित भएको छ । आर्थिक स्रोत परिचालन गर्ने स्थानीय र प्रदेश सरकार अझै प्रेसमैत्री बन्न सकेका छैनन् । आमसञ्चारका माध्यममार्फत प्रवाह गर्नुपर्ने सूचना विज्ञापन कार्यालयका भित्ता र सामाजिक सञ्जालमा सीमित गरिदिएका छन् । सञ्चार क्षेत्रका लागि कल्याणकारी अन्य ठोस काम पनि हुन सकेका छैनन् । यस कारण पनि अहिले चलिरहेका सञ्चार माध्यम र आवद्ध सञ्चारकर्मी, कर्मचारीको अवस्था राम्रो छैन । आर्थिक संकटले पारेको यो असरलाई आवश्यक रणनीति तयार गरी श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै सञ्चार संस्थाहरूको सवलीकरणको दिशामा काम गर्ने प्रमुख दायित्वका साथ यतिबेला हामी अगाडि बढ्न जरुरी देखिएको छ । यी समस्या सम्वोधनका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको अभिभावकीय भूमिका आवश्यक पर्दछ । यस कार्यको लागि सरकारको ध्यानाकर्षणसहित खबरदारी गर्दै मुलुकको आर्थिक संकट निवारणका लागि मिडियाले आफ्नोतर्फबाट अझ प्रभावकारी भूमिका खेल्नुपर्ने जिम्वेवारी निर्वाहका लागि म सबैलाई आग्रह गर्दछु ।

द्रुत गतिमा वृद्धि भएको प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना गरेको छ । समयानुकूल आफ्नो ज्ञान, सीप, क्षमतामा अभिवृद्धि गरी इन्टरनेटको अधिकतम् सदुपयोग गर्दै त्यसमार्फत पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने दिशामा हरेक पत्रकार स्वयं क्रियाशील हुनु जरुरी छ । प्रविधिमैत्री पत्रकारिताका लागि आवश्यक वातावरण र अवसर निर्माण गरिदिन यस अवसरमा म तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदछु ।

अन्त्यमा, पत्रकारिता क्षेत्रमा हाम्रो दायित्व र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबैमा अपिल गर्दै नेपाल पत्रकार महासंघ झापाको स्थापना दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

एकराज गिरी

अध्यक्ष

 

तपाईको प्रतिक्रिया