विराटनगर, १७ कार्तिक २०८० । मोरङको विराटनगरबाट एक क्विन्टल चाँदीका गहना बरामद गरिएको छ । विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्समा सरकारी टोलीले छापा मारेर एक क्विन्टल चाँदीका गहना बरामद गरेको हो।
तिहारको धन्तेरसमा बिक्री गर्नका लागि भारतबाट तस्करी गरी २०० किलो सुनचाँदीका गहना विराटनगर भित्राएको सूचनापछि प्रहरी, प्रशासन, भन्सार र आन्तरिक राजस्व कार्यालयको संयुक्त टोलीले विहीबार छापा मारेको थियो । भारतीय नागरिक विश्वजित जानाले सञ्चालन गरेको ज्वेलर्सबाट एक सय किलो मात्रै बरामद भएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । बिहीबार दिउँसो पसलबाट बरामद भएको गहना राति अबेर मात्रै जोखेर सकिएको थियो ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालका अनुसार रसायनसहित तौल लिँदा चाँदीका सामग्री तथा गहना ९९.९४६ किलोग्राम थियो । सुनका गहना १५३.८ ग्राम रहेको उनले बताए । काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला परेको थियो । दाहालका अनुसार बरामद भएको सबै मालवस्तु राष्ट्र बैंकले गालेर परिणाम यकिन गर्नेछ ।
भारतको पश्चिम बंगालको मजलिसपुर घर भएका उनले विराटनगर–११ पिचरा रोडमा पशुपति ज्वेलर्स सञ्चालन गर्दै आएका थिए ।
ज्वलेर्समा छापा मारेको सरकारी टोलीले चाँदीबाट बनेका पाउजू, ब्रासलेट, औंठी, दियो, करुवा, लोटा, मूर्ति, टीकादानी, प्लेट, माला, बाला, हातको पञ्जा, कम्मरपेटी, सिक्का, रिङ, लकेटलगायतका सामग्री छन् । सुनको मंगलसूत्र, चन्द्रमा, तिलहरी, टप, नेकलेस पनि छन् ।
ज्वेलर्समा छापा हान्दा बिल बिजक फेला नपरेपछि चाँदी तथा सुनका सामग्री र गरगहना बरामद गरिएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए । चाँदी तथा सुनबाट बनेका सामग्रीको बिल देखाउन नसकेपछि ज्वेलर्सका सञ्चालक विश्वनाथ जानालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको उनले बताए ।
भारतीय नागरिक विश्वनाथ जानाले भारतबाट भन्सार छली गरेर तयारी गहना नेपाल ल्याउँदै ज्वेलर्समा राखेर विराटनगर, इनरुवा, धरान, इटहरी, विराटचोक, उर्लाबारीलगायत स्थानका पसललाई सप्लाई गर्ने गरेको प्रहरीको दाबी छ ।