काठमाडौँ, १८ भदौ २०८० । नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकदिवसीय क्रिकेटमा १ हजार रन पूरा गरेका छन् । सोमबार श्रीलंकाको क्यान्डीमा एसिया कपअन्तर्गतको खेलमा भारतविरुद्धको खेलमा उनले १ हजार रन पूरा गरेका हुन् ।
उनले यसअघि ९९४ रन बनाएका थिए । सोमबार भारतविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।भुर्तेलले सोमबार भारतविरुद्ध २५ बलमा ३ चौका र २ छक्का हान्दै ३८ रन बनाए ।
कुशलले यसअघि फेब्रुअरी १४ मा नामिबियाविरुद्ध विश्वकप लिग-२ मा यसअघि १ सय १५ रन बनाएका थिए । उनी पछिल्लो पटक भने असारमा शतक बनाउन एक रनले चुकेका थिए ।
गत असारमा जिम्बावेविरुद्ध हरारेमा कुशलले विश्वकप छनोटमा ९९ रन बनाएपछि बोल्ड हुन पुगेका थिए । वेलिङटन मासाकाद्जाले बोल्ड गरेपछि कुशल नर्भस ९९ को शिकार भए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालबाट कसैले पनि दुई शतक हानेका छैनन् ।