काठमाडौं, २० असार २०८० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिनुभएको विवादास्पद अभिव्यक्तिको जवाफ माग गर्दै प्रतिनिधि सभा बैठक अबरुद्ध गरेको छ ।
प्रधानमन्त्री दाहालले केही दिनअघि नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहबारे लेखेको पुस्तक विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताउनुभएको थियो । यसै बिषयलाई लिएर एमालेले प्रधानमन्त्रीको जवाफ मागेको हो ।
बुधबार सभामुख देवराज घिमिरेले बैठक शुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरु उठेका थिए,त्यसपछि सभामुख घिमिरेले एमाले सांसद रघुजी पन्तलाइ बोल्न समय दिनु भएको थियो । पन्तले प्रधानमन्त्रीको भनाईले स्वाभीमानमा ठेस लागेको भन्दै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्नुभयो ।
प्रधामन्त्रीको सो भनाई गैरजिम्मेवार रहेको एमालेको ठम्याई छ । त्यसपछि सभामुख घिमिरेले नेकपा माओवादीकी सांसद छिरिङ ल्हमु लामालाई बोल्न समय दिनुभएको थियो । उहाँले बोलिरहँदा एमालेका सांसदहरुले होहल्ला गरिरहेपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको छ । उता प्रधानमन्त्री दाहालले पुस्तक बिमोचनको कुरालाई लिएर एमालेले बबण्डर मच्चाउन खोजेको बताउनु भएको छ ।
बुधबार काठमाडौमा आयोजित पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको प्रशिक्षणमा यस्तो बताउनुभएको हो ।