Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

काठमाडौं, ७ चैत २०७९ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् ।

नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । दुवै खेलाडी विराटनगरका हुन् ।

दीपेशले युएईको यु–१९ टोलीविरुद्ध ह्याट्रिक विकेट लिएर नेपाललाई यु–१९ विश्वकपमा छनोट गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ललितले विश्वकप लिग–२ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

महासंघले ललितका बुबा–आमालाई पनि सम्मान गरेको छ । ललित र दिपेशलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले जनही १ लाख ११ हजार र विराटनगर महानगरपालिकाले जनही १ लाख १ हजारसहित सम्मान गर्नेछ ।

यसैबीच, भूतपूर्व खेलाडी मञ्च पोखराले सिनियर टोलीका क्रिकेटर करण केसीसहित यु–१९ का सुवास भण्डारी, अर्जुन कुमाल र दीपक डुम्रेलाई पोखरामा नगदसहित सम्मान गरेको छ ।

मञ्चले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण योगदान गरेका बागलुङका केसीसँगै यु–१९ विश्वकपमा छनोटमा पुर्‍याउने टोलीका सदस्यत्रय कास्कीका सुवास भण्डारी, अर्जुन कुमाल र नवलपुरका दीपक डुम्रेलाई सम्मान गरेको हो ।

 

तपाईको प्रतिक्रिया