Online Bichar
सोमबार, पौष १५, २०८१ | Monday, December 30, 2024

झापा, २५ असोज २०७९ । पछिल्लो २४ घण्टामा पहिरोका कारण विभिन्न जिल्लामा १६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले मंगलबार एक बुलेटिन सार्वजनिक गर्दै सोमबारदेखि आजसम्मको २४ घण्टाको समयमा कालिकोट, मुगु, हुम्ला र बाजुरामा गरी १६ को मृत्यु हुनुका साथै १७ बेपत्ता भएको उल्लेख गरेको छ ।

दाङ र जुम्लामा अविरल वर्षाका कारण एक जनाको मृत्यु र एक घाइते भएका छन् । आगलागीबाट भक्तपुरमा एक घाइते भएका प्राधिकरणले जनाएको छ । पछिल्लो समयमा रामेछाप जिलाको मन्थली विमानस्थलमा सबैभन्दा बढी (४ दशमलव चार मिमि) पानी परेको जनाइएको छ । वैशाखयता दुई हजार दुई विपद्जन्य घटनामा २७६ को मृत्यु र ३३ बेपत्ता भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । यसपालि पहिरोका कारण बढी मानिसले ज्यान गुमाएका छन् ।

विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोले जनजीवन प्रभावित इलाकामा नेपाली सेनाको जनशक्ति तथा स्रोत साधन प्रयोग गरी विभिन्न व्यक्तिको उद्धार गरिएको छ ।

नेपाली सेनाले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा, गायत्री टोल आसपासका क्षेत्र डुबानमा परी घरभित्र फसेका करिब ८२ घरधुरीका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लान सफल भएको जनाएको छ ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोही क्षेत्रको डुडुवा गाँउपालिका¬–१ खडैचा, चौफेरी गाउँका डुबान प्रभावित स्थानीय बासिन्दालाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यहाँको राप्ती नदी र डुडुवा खोलाको पानी पसेर डुबानबाट प्रभावित स्थानीयवासीको उद्धारका साथै खाना र पानीको व्यवस्थापन गरिएको सेनाले जनाएको छ ।

यस्तै बर्दिया जिल्लाको गुलरिया नगरपालिका¬–८, थपुवा इलाका बबई नदीमा आएको बाढीले कटान गरी जोखिममा परेको करिब ५० मिटर बाँध बोरामा माटो भरेर बाँध बनाइएको आज सेनाले एक सूचना जारी गरी जनाएको छ ।

उता कैैलाली जिल्लाको भजनी नगरपालिका–३ पक्रेडाँडाको डुबान प्रभावित इलाकामा स्थानीयवासीको उद्धार गर्नुका साथै राहत सामग्रीसमेत वितरण गरिएको जनाइएको छ ।

यस्तै कैलालीको डुबान प्रभावित इलाकामा स्थानीय तथा तिनका अत्यावश्यक सामग्रीहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै बाढीका कारण हुलाकी राजमार्गमा आवतजावत गर्न समस्यामा परेका यात्रीहरूलाई सकुशल उद्धार गरिएको छ ।

जुम्ला जिल्लामा पहिरोमा परी घाइते भएकी एक महिला र एक पुरुष तथा कालीकोटका दुई पुरुषलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको सेनाले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया