Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

झापा, ३१ असार २०७९ । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । देशभर प्रत्येक दिन फैलिरहेको कोरोना संक्रमणबाट मोरङमा एक कैदीबन्दीको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता कोरोना संक्रमण फैलिएको छ । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोशी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेकामध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १८ जनाको भने उपचार भइरहेको छ ।

अस्पताल पुर्याइएका मध्ये १६ जनालाई एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको छ । दुई जनाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षण रहेको छ । बिहीबार अस्पताल भर्ना भएका विरामीको शुक्रबार एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतालले जनाएको छ ।

सबै जनाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । बिहीबार अत्यधिक ज्वरो आएपछि कोशी अस्पतालमा भर्ना गरिएका १९ जना कैदीबन्दीमध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो ।

मृतको शव बुझेर आफन्तले लगिसकेका छन् । कारागारमा हाल १ हजार ८७ जना कैदी बन्दी रहेका छन् ।ईमेजखबरबाट साभार

 

तपाईको प्रतिक्रिया